
काठमाण्डु, ७ माघ– नेपाली काँग्रेसले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परीक्षा हुने टिप्पणी गरेको छ ।
शनिबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन प्रचण्डको परीक्षा हुने बताए । प्रचण्डले संविधान रक्षाको पक्षमा उभिने कि नउिभने भन्ने निर्णय लिनुपर्ने समय आएको उनको भनाइ थियो । सभामुख र उपसभामुख चयनमा प्रचण्ड परीक्षमा उत्तीर्ण हुन नसकेको महतले उल्लेख गरे ।
महतले एमाले अध्यक्ष केपी ओलीले संसद विघटनको एजेण्डा प्रमुखताका साथ उठाइरहेको भन्दै केसीले त्यसैलाई सहयोग पुग्ने गरी सभामुख चयन गरिएको आरोप लगाए । एमाले सांसद देवराज घिमिरले बिहीबार प्रतिनिधिसभाबाट सभामुख चयन भएका थिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि संविधानको रक्षाका लागि सभामुख र उपसभामुखमा उम्मेदवारी दिइएको उनले बताए । ‘अब प्रधानमन्त्री कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ? सभामुख/उपसभामुखको परीक्षामा उहाँहरु उत्तीर्ण हुनुभएको छैन । अब राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन आउँदैछ । यो सबभन्दा परीक्षणको घडी छ’, महतले भने ।