नेपालको अखण्डता र स्वाभिमान बचाउन मर्न/मार्न तयार छौंः यादव

काठमाण्डु टुडे २०७९ माघ ७ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, ७ माघ– जनता समाजवादी पार्टी जसपाका नेता एवं पूर्वमन्त्री राजकिशोर यादवले संशोधनमार्फत संविधान साझा बनाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा शनिबार उपसभामुखको निर्वाचनका क्रममा मन्तब्य व्यक्त गर्दै यादवले संविधान निर्माणमा आफूहरुको पनि भूमिका भएको नबिर्सन आग्रह गरे । यादवले संसदसँग मधेस, दलित र थारु समुदायको मोहभंग हुन सक्नेमा सचेत रहन सबैलाई आग्रह गरे ।

‘संशोधनमार्फत संविधानलाई सबैको सझा बनाऔं । यो संविधान निर्माणमा हामी सबैको योगदान छ’, यादवले भने । उनले मधेसीहरु पनि नेपाली भएको चर्चा गर्दै मुलुकको अखण्डा र स्वाभिमानका लागि मर्न मार्न तयार रहेको बताए ।

‘हामी पनि नेपाली हौं । यो नेपाली माटोका लागि, नेपालको अखण्डताका लागि, नेपालीको स्वाभिमानका लागि मर्न मार्न तयार छौं’ उनले भने, ‘२१औं शताब्दीमा जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक सबै प्रकारका विभेदको अन्त्य गर्दै समतामुलक समाज निर्माण गरेर नेपाललाई एकताबद्ध गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । त्यसको सम्भान गर्ने कि नगर्ने भन्ने जिम्मेवारी यो सम्मानित सदनमा छ ।’

उनले काठमाण्डु–१० का जनताले हराउँदा आफ्नो गृहजिल्ला सिरहाका जनताले सम्मानपूर्वक जिताएर पठाएको स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे । प्रचण्डले मधेस जाँदा मधेससँग लभ परेको बताए पनि बिहे काँग्रेससँग गरेको र अहिले अकैंसँग लगन गाँठो कसेको टिप्पणी गरे ।

यादवले मधेसी, थारु र दलितलाई बन्दुक बोकाउँदा गरेका बाचा पूरा गर्ने समय आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल विधेयक ल्याउन यादवले आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us