
काठमाण्डु, ७ माघ–उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनले संसदीय मर्यादाविपरीत जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभामा रुलिङ गरेको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक कसैले पनि रुलिङ गर्न नसक्ने स्पष्ट गरे । लिङदेनले सभामुखले रुलिङ नगरेको र प्रधानमन्त्री नउठेका कारण आफू मौन धारण गराउँदा नउठेको बताए ।
५ माघको बैठकमा राउतले रोष्ट्रमबाट बोल्ने क्रममा मधेस आन्दोलनका शहीदहरुका नाममा मौनधारण गराएका थिए । त्यस क्रममा कतिपय सांसद आफ्नो स्थानबाट उठे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिङदेनसहितका सांसद उठेनन् । मौन धारणमा नउठेका कारण आफूमाथि मधेसका शहीदको अपमान गरेको भन्दै बाहिर विरोध भइरहेकामा लिङदेनले आपत्ति जनाए ।
‘संसदको एउटा मर्यादा हुन्छ, एउटा नियम हुन्छ । रूलिङ सभामुखको चल्छ । यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिनँ भने म बहाना वा भावनामा बगेँ भने त्यसले संसदीय परम्परामा राम्रो छाप छाड्दैन । कि त सभामुखले त्यो विषयमा रूलिङ गर्नुपर्यो । कम्तीमा कि मेरो प्रधानमन्त्री उठ्नुपर्यो’, उनले भने । लिङदेनले मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूप्रति आफूहरुको सम्मान छैन भन्ने गलत प्रचार भइरहेको भन्दै उनले दुःन व्यक्त गरे ।
‘हामीले यो भ्रम नरहोस् त्यो विषयप्रति अनादर गरेको होइन । मलाई लाग्छ प्रधानमन्त्रीले पनि गरेको होइन । यो गलत प्रचार गर्नुहुँदैन । हामीले संसदीय मर्यादा भंग गर्नु हुँदैन भन्ने कुरालाई ध्यानमा राखेर हामी नउठेको कुरालाई यो संसदले पनि बुझोस् बाहिरी समाजले पनि बुझोस् । म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दिन्छु। यो गलत कुरा लान पाइँदैन’, उनले भने ।