कोटेश्वरमा कोइला बालेर सुतेका चार जना अचेत

काठमाण्डु टुडे २०७९ माघ ७ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, ७ माघ– काठमाण्डु कोटेश्वरमा राति कोइला (मकल) बालेर सुतेका एकै परिवारका चार जना अचेत फेला परेका छन् ।

काठमाण्डु महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरका कुमार खत्रीको घरमा कोइला बालेर सुतेका चार जना शनिबार अचेत अवस्थामा फेला परेका हुन् ।

काठमाण्डु प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरु घरको पाचौं तलामा झ्याल ढोका बन्द गरी कोइला बालेर सुतेका थिए । घरमा बस्ने अरुले थाहा पाएपछि उद्धार गरिएको थियो । अचेतमध्ये एक ३५ दिने शिशुसमेत रहेको कार्कीले जानकारी दिए ।

अचेत हुनेमा ९० वर्षीया छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र उनका ३५ दिनका छोरा श्रीयाल खड्का छन् ।

सबैको निजामति अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । अचेतमध्ये आइसीयू नपुगेपछि छलमायालाई छाउनीस्थित सैनिक अस्पताल रेफर गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us