
काठमाण्डु, ७ माघ– कांग्रेस सांसद रामहरि खतिवडाले शनिबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेको क्षमतामाथि प्रश्न उठाएका छन् ।
उनले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने कामको सुरुआत गरेको भन्दै लामिछानेको आलोचना गरे । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिइएको बताएको थियो ।
यसअघि बिहीबारको बैठकमा खतिवडाले नै महतो सभामुख चयन प्रक्रियामा मतदानका लागि संसद भवनमा आएको भन्दै तत्काल पक्राउ गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका थिए । त्यसलगत्तै गृहले विज्ञिप्त जारी गरेको थियो ।
‘भर्खरै गृह मन्त्रालयबाट एउटा सूचना जारी भएको पत्र आयो । नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरूआत भएको छ,’ खतिवडाले भने, ‘यो गृह मन्त्रालयमा पदवहाल गर्नुभएका धेरै मन्त्री यो संसदमा हुनुहुन्छ ।
गृह मन्त्रालय, परराष्ट्र, रक्षा मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास हुने को भने मुलुक कहाँ जाने हो ? बढो चिन्ताको विषय बनेको छ ।’ सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा फरार अभियुक्त हुन् ।