
काठमाण्डु, ७ पुस– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै फरार अभियुक्त पक्राउ पर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै उनले विगतमा आफूले बोलेका र मतदाता समक्षा भोट माग्न जाँदा गेरका बाचा हेक्का रहेको बताए । पुराना फरार अपराधी पक्राउ गरिने र नयाँ फरार हुन नदिने उनको भनाइ छ ।
‘पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ।
हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका बाचाहरूको हेक्का छ,’ उनले लेखेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मिहेनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ ।’
एमाले सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा प्रतिनिधिसभामै प्रश्न उठेको थियो । काँग्रेस सांसद रामहरि खतिवडाले सभामुख चयनका दिन फरार अभियुक्त कोइरी सभामुखलाई भोट हाल्न आएको भन्दै पक्राउ गर्न माग गरेका थिए ।
त्यसलगत्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ । हत्या अभियोगमा दोषी ठहर कोइरी ४ मंसिरमा सम्पन्न निर्वाचनमा महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
२०७२ साल भदौ २५ गते मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट बाहिर निकालेर निर्मम हत्या गरिएको थियो । उक्त घटनामा दोषी ठहर गर्दैै उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।