देशमा कसैको सैनिक अड्डा राख्न दिँदैनौ: केपी ओली

काठमाण्डु टुडे २०७९ माघ ६ गते १४:१९ मा प्रकाशित

काठमाण्डु,६ माघ– पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहितलाई ध्यानमा राखेर बाह्य र अन्तर्राष्ट्रिय सम्बन्ध राखिने बताएका छन ।

आज (शुक्रबार) पार्टीको परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको विदेश नीति तथा अन्तराष्ट्रिय सम्बन्ध’ विषयक दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

ओलीले कुनै पनि देशले आफ्नो स्थिति र विकास र सुरक्षालाई ध्यानमा राखेर विदेश नीति अपनाउने बताएका छन , । उनले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल पनि प्रतिवद्ध रहेको भन्दै कतिपय देशहरुले अपनाउने परराष्ट्र नीतिका कारण विलय हुनुपरेको बताएका छन ।

उनले भने,‘कुनै पनि देशले आफ्नो अवस्थिति, विकासको अवस्था, आफ्नो विकास र सुरक्षालाई ध्यानमा राखेर नै अगाडि बढाउँछ । यसमा हामीले ध्यान दिनुपर्ने भूराजनीतिक स्थिति पनि छ’ ‘भौगोलिक अवस्था, विकासको स्तर, हाम्रो अर्थतन्त्रको स्टे«न्थ लगायतका यी परिस्थितिलाई ध्यानमा राखेर नीति अवलम्बन गर्नुपर्छ ।’

उनले एमाले तनावरहित छिमेक सम्बन्धको पक्षमा रहेको पनि बताए । ‘राष्ट्रहित, सीमा समस्या, प्राकृतिक श्रोतहरुलाई राष्ट्रहितमा सञ्चालन गर्नसक्ने अवस्थाको पक्षमा हामी छौं’, ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताएका छन ।

उनले आफ्नो भूमि कसैका लागि प्रयोग हुन नदिने पनि बताएका छन । उनतले भने, ‘हाम्रो देशमा कसैका सैनिक अड्डा राख्न दिँदैनौ । कुनै प्रकारका सैनिक गतिविधिहरु वा त्यस्ता अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौ’, ओलीको भनाइ छ ।

उनले आफ्नो सार्वभौम सत्तामा कम्परमाइज नगर्ने भन्दै पारस्पारिक हितमा अघि बढ्ने बताए । उनले विगतका सरकारका पालामा हाम्रो छिमेक सम्बन्ध तरंगित र असन्तुलित भएको टिप्पणी समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us