राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिहरुमाथि प्रहार हुँदै आएको छ: भीम रावल

काठमाण्डु टुडे २०७९ माघ ६ गते १३:३८ मा प्रकाशित

काठमाण्डु,६ माघ– एमालेका नेता डा. भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन । ४ मंसिरमा भएको निर्वाचन पछि पहिले पटक गृहजिल्ला अछाम पुगेका नेता रावलले यस्तो बताएका हुन ।

उनले जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने बताएका छन । उनले पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउँदै आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए ।

नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको पनि बताएका छन । ४ मंसिरमा भएको निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र–१ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस भएपनि टिकट नपाएकोप्रति असन्तुष्टि पोख्दै नेता रावलले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिहरुमाथि प्रहार हुँदै आएको छ ।’

रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताए । ‘राम्रा कामको प्रसंशा गर्छु र गलत कामको आलोचना गर्छु’ डा रावलले भने, ‘सरकारका कतिपय मन्त्रीले स्वार्थ बाँझिने मन्त्रालय रोजेका छन्, यसले जनतामा सुशासनको अनुभूति हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us