सुनसरीमा खुकुरी प्रहार गरी साथीको हत्या

काठमाण्डु टुडे २०७९ माघ ६ गते ११:०३ मा प्रकाशित

काठमाण्डु,६ माघ–सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको मूत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन ।

मूत्यु हुनेमा स्थानीय ३५ वर्षीय कुमार बुढाथोकी रहेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् ।

स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको बताएको छ ।

उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीले बताएको छ । साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथि पनि खुकुरी प्रहार गरेका थिए ।

भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us