आज सभामुखको निर्वाचन हुँदै

काठमाण्डु टुडे २०७९ माघ ५ गते ११:२५ मा प्रकाशित

काठमाण्डु,५ माघ–आज प्रतिनिधि सभाको सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ सभामुखका लागि एमाले र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । ४ मंसिरमा भएको निर्वाचनमा घिमिरे झापा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् ।

एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए । सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ ।

दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । २७५ प्रतिनिधि सभामा सदस्यमा सभामुख निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ ।

सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ । सत्ता गठबन्धनमा रहेका चार दलको मत नै देवराजलाई काफी हुने देखिन्छ ।

एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ । यसअघि सरकारलाई समर्थन गरेका जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी भने अहिले केही असन्तुष्ट देखिएका छन् ।

उनीहरूले सभामुखबारे कुनै निर्णय गरिसकेका छैनन् । यता कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ भने एकीकृत समाजवादीको १० मत रहेको छ । यो जोड्दा उनको बहुमत पुग्दैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us