
काठमाण्डु, १ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालको साझा पहिचान भएको बताएका छन् ।
थारू र मगर समुदायको चाड माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको बताए ।
‘नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन्’, उनले भनेका छन्, ‘यी चाडपर्वहरूले नयाँ उमंग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।’
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलनसमेत रहेको प्रचण्डले स्मरण गरे ।
नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्नो परम्परा र विशेषताअनुसार मनाउँदै आएको पाइन्छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि ताजा जनादेशको जगमा वर्तमान सरकार गठन भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताए ।
उनले प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत प्राप्त गरेको वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताए । उनले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन हार्दिक अपील गरे ।
माघी र माघे संक्रान्ति पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।