झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइनः हितेन्द्रदेव

काठमाण्डु टुडे २०८२ जेठ २ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, २ जेठ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको जानकारी गराएका छन । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन ।

उनले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडसेडिङ हुन्छ भन्ने भ्रममा नगर्न आग्रह समेत गरेका छन । उनले शुक्रबार पिक आवरमा भारतबाट नेपालमा विद्युत् आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण काठमाण्डूसहित देशका अधिकांश स्थानमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको स्वीकार गरे । उनले विद्युत् प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ झ्यापझ्याप बत्ती गएको जानकारी गराएका छन ।

कार्यकारी निर्देशक शाक्यले बिहीबार साँझ विद्युत् आपूर्तिमा भएको समस्या पूर्ण रूपमा प्राविधिक भएको भन्दै यसलाई ‘लोडसेडिङ’ सँग जोडेर हल्ला फैलाउनु गलत भएको उनको तर्क छ । उनले जलवायु परिवर्तनको कारण विभिन्न स्थानमा आउने हावाहुरी र पानीको कारण आकस्मिक रूपमा प्राविधिक अवरोध हुँदा समस्या भएको पनि बताए ।

उनले प्राधिकरणले विद्युत् अभावका कारण लोडसेडिङ गर्ने लाग्यो भनेर भ्रममा नगर्न आग्रह समेत गरेका छन । उनले भने, ‘हाम्रो आन्तरिक उत्पादन कम छ। १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पिकिङ समयमा करिब २ हजार मेगावाट माग छ । विद्युत् प्रसारण लाइनमा पिकिङ समयमा विद्युत् ट्रिप भएकाले प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता सिमाना पुगेको छ,‘ कार्यकारी निर्देशक शाक्यले भने,‘ अहिले हुने विद्युत् लोड क्षमता धान्न नसक्ने अवस्थामा छ । बालाजु र स्युचाटारको लोडले गर्दा चाँडै ओभर लोड हुने अवस्था छ ।

विद्युत् प्रणालीमा धेरै ठाउँमा समस्या रहेको पाए । म आफै एलडीसीमा बसेर हेरेको थिए । प्रणाली कमजोर भएकाले उत्पादन भएर आएको विद्युतले काठमाडौँमा जाँच गर्न खोज्दा बेलाबेलामा ट्रिप भएको हो । त्यही भएर हिजो धेरै पटक बिजुली झ्याप झ्याप भएको महसुस गर्नु भएको हो ।’

उनले ढल्केबर–मुजफ्फरपुर लाईन जाँच गर्न दुई वटा नै लाइन ट्रिप भएकाले उक्त लाइनमा डिले हुँदा नेपालको प्रणालीबाट सञ्चालन गर्ने कोसिस गर्दा पिकको समय र आन्तरिक उत्पादन कम भएकाले नधानेर ट्रिप भएको बताए । उनले भारतको प्रणालीबाट विद्युत् आएन भने समस्या पर्ने अवस्था रहेको बताए ।

शाक्यले जलवायु परिवर्तनको कारणले ठुलो हावाहुरी,पानी पर्ने घटनाहरू बढी रहेको उल्लेख गरे । उनले प्राधिकरण प्रसारण लाइन र प्रणाली सुधार गर्नको लागि प्रयासरत रहेको भन्दै प्राविधिक प्रणालीमा सुधार गर्न समय लाग्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us