

काठमाण्डु ,२९ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज शुक्रबार विश्वासको मत लिँदैछन् । २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले दिउँसो १ बजे विश्वासको मत लिन कार्यसूची तय भएको छ ।
६० प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा संसदको सबै भन्दा ठुलो दल कांग्रेससँग २७ सांसद रहेका छन । एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर, मनाङेले विश्वासको मत भने अधिकारीलाई नदिने र प्रतिपक्षमा बस्ने बताएका छन । कांग्रेसलाई पनि पत्र पठाएर अधिकारीले विश्वासको मत दिन आग्रह गरेका थिए ।
कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ र विश्वासको मत नदिएर प्रतिपक्षीमा बस्ने कांग्रेस सांसद डिल्लीराम सुवेदीले जानकारी दिएका छन ।