काँग्रेससँग कुनै गोप्य सम्झौता भएको छैनः प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष २८ गते ९:१२ मा प्रकाशित

काठमाण्डु, २८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा काँग्रेससँग कुनै गोप्य सहमति नभएको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीसँग बुधबार उनकै निवास बालकोटमा भएको भेटमा प्रचण्डले काँग्रेससँग अपारदर्शी प्रकारको कुनै सहमति नभएको प्रष्टीकरण दिएका हुन् ।

काँग्रेसले चमत्कारिक रुपमा विश्वासको मत दिएपछि ओली सशंकित छन् । प्रधानमन्त्रीले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत दिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदको रोष्ट्रममा उभिएर बोल्ने क्रममा ओलीले काँग्रेसले समेत विश्वासको मत दिन लागेकामा आपत्ति जनाएका थिए ।

उनले काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुलाई सत्ता प्राप्तिको दाउपेचको संज्ञा दिँदै खोलामा ढडिया थापेको भए माछा नपर्ने टिप्पणी गरेका थिए । एमालेका एक पदाधिकारीका अनुसार ओली र प्रचण्डबीच बुधबारको भेटमा सत्ता गठबन्धन पाँच वर्ष नै कायम राख्नेबारे छलफल भएको छ ।

‘प्रचण्डजीले काँग्रेससँग कुनै रहस्यमय सम्झौता नभएको बताउनुभएको छ’, ती नेताले भने, ‘गठबन्धनलाई पाँच वर्षसम्म लैजाने कुरा भएको छ ।’ प्रचण्ड गत १० पुसमा एमाले, रास्वपा, राप्रपा, राजपा, जनमत पार्टी र नागरिकता उन्मुक्ति पार्टीका १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us