
काठमाण्डु,२१ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक रहेको बताएकी छन ।
आज (बिहीबार) काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन ।
स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिनुपर्ने उनले बताएकी छन । उनले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावार र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, तथा पर्यटन प्रवर्द्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक भएको पनि बताइन् ।
भण्डारीले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेको उल्लेख गर्दै उल्लेखित क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी सबैको दायित्व भएको बताएकी छन ।
उनले निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको बताइन् ।
राष्ट्रपति भण्डारीले मुलुकको अर्थ व्यवस्था बलियो बनाए केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिने उल्लेख गरेकि छन।
राष्ट्रपति भण्डारीले घरेलु उत्पादनको रूपमा रहेका नेपाली फुटवेयर उत्पादनहरुले स्वदेशी जुत्ताचप्पल बजारमा ठूलो स्थान ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजगारी प्रदान गरेकोप्रति खुसी भएको बताएकी छन ।