
काठमाण्डु,२० पुस– कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।
कैलाली–२ को (१) बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले बताएका छन ।
दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको खड्काले जानकारी दिएका छन ।
कांग्रेस संसदीय दलको नेतामा ७ जनाले आकांक्षा राखेका थिए । शाह महासमिति सदस्य समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशको समर्थनमा दलको नेता बनेका छन ।
हिजो मंगलबार बसेको प्रदेश पदाधिकारीको बैठकले दलको नेतामा आकांक्षीहरुलाई सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो तर सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।
उक्त समितिले दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो तर नेताहरुबीच मनोनयन दर्ता गर्ने समय सकिँदै गर्दा सर्वसम्मत नेता चयन गर्ने सहमति भएको हो ।