प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डु टुडे २०७९ पुष १० गते १८:३६ मा प्रकाशित

काठमाण्डु,१० पुस– नेकपा (माओवादी केन्द्र)का अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित आज प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन प्रप्त गरेका छन ।

प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १७० सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us