
काठमाण्डु,४ पुस– कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको छ ।
हिजो (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा ती सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको छ ।
सोमबार बिहान पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन समितिको बैठकले निर्वाचनको समय तालिका पनि बनाएको छ । कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधिसभाका सांसद मतदाता हुने व्यवस्था रहेको छ ।
उम्मेदवारी दर्ता भने बुधबार बिहानै सुरु हुने भएको छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना रहेको छ ।
कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । शेखर– गगनले आफू निकट ठानेका योगेश गौचन, सुरेन्द्र आचार्य, दीपक गिरि र दीपक खड्काले देउवालाई साथ दिने सम्भावना बढेको छ ।
१४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका सांसद प्रदीप पौडेल भने गगन थापाको पक्षमा उभिने सम्भावना बढी रहेको छ ।