
काठमाण्डु, २ पुस– प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सांसदलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।
सभापति देउवाले शुभकामना दिन नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले आजै अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बालुवाटार बोलाइएको जानकारी दिए । श्रोतका अनुसार बालुवाटारमा विजयी भोजको आयोजना गरिएको छ ।
४ मंसिरमा सम्पन्न निर्वाचनमा काँग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिटमा जित हात पारेको छ । सभापति देउवा संसदीय दलको नेता बन्ने तयारीमा छन् । उनलाई पूर्वसंस्थापन पक्षका महामन्त्री गगन थापा र डा. शेखर कोइरालाले चुनौती दिने तयारी गरेका छन् ।
अन्तिममा थापा र कोइरालामध्ये सो खेमाबाट एक मात्र उम्मेदवार उठाउने तयारी पनि भइरहेको छ । देउवा सत्ता गठबन्धनको समर्थनमा फेरि प्रधानमन्त्री बन्ने तयारीमा छन् ।