
काठमाण्डु,१ पुस– निर्वाचन आयोगले ४ मंसिरमा भएको निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक गरेसँगै नयाँ सरकार गठनका लागि ‘काउन्ट डाउन’ सुरु भएको छ ।
आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम औपचारिक रुपमा घोषणा गरेको हो । संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठन सम्बन्धी व्यवस्था छ ।
सो धाराको उपधारा ८ मा भनिएको छ, ‘यस संविधान बमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने छ ।’
उक्त संवैधानिक प्रावधान अनुसार २८ मंसिर को मितिले ३५ दिनभित्र अर्थात् माघ ४ सम्ममा नयाँ सरकार गठन भइसक्नु पर्ने छ ।
यस्तै नयाँ प्रतिनिधिसभाको पहिलो बैठक पुस २८ सम्म बसिसक्नुपर्ने छ । संविधानको धारा ९३ को उपधारा १ मा भनिएको छ, ‘राष्ट्रिपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नेछ ।’
२८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा भएकाले सो मितिले ३० दिन अर्थात् पुस २८ सम्ममा प्रतिनिधिसभाको पहिलो बैठक बस्नुपर्ने छ ।