तारकेश्वरको जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा १ जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष १ गते १३:०१ मा प्रकाशित

काठमाण्डु,१ पुस– काठमाण्डुको तारकेश्वर नगरपालिका–३ स्थित जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्ति रहेका छन ।

२२ मंसिरमा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार मृत भेटिएकी थिइन् । उनी तारकेश्वर–३ स्थित पारिवन पाखा सामुदायिक वनमा मृत भेटिएकी हुन् ।

नरेन्द्रले मृतकको साथमा रहेको सुन र नगद लुटेको अनुसन्धानबाट थाहा भएको प्रहरीले बताएको छ । मृतक वृद्धाले साथमा सँधै नगद राख्ने गरेको थाहा पाएर नरेन्द्रले ‘पारि गाउँमा राहत बाँड्न लागेको रहेछ, जाउँ’ भनेर उनलाई साथमा लिएर गए ।

बीच जंगलमा पुगेपछि ढुंगाले हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us