सुनको ‘नक्कली बिस्कुट’ देखाएर ठगेको आरोपमा काठमाण्डुको कोटेश्वरबाट ६ जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष १ गते १२:३७ मा प्रकाशित

काठमाण्डु,१ पुस– प्रहरले सुनको ‘नक्कली बिस्कुट’ देखाएर ठगेको आरोपमा काठमाण्डु महानगरपालिका–३२ कोटेश्वरबाट ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ घर भएर कोटेश्वर बस्ने ३५ वर्षीय लिलबहादुर परियार, मकवानपुर घर भएका ५६ वर्षीय अक्कलबहादुर तामाङ, झापाको बाह्रदशी गाउँपालिका घर भएका ४४ वर्षीय दीपक तामाङ, ४२ वर्षीया पम्फा तामाङ, ४७ वर्षीय दुर्गा भुजेल र ४० वर्षीया मालती भुजेल रहेका छन् ।

२७ मंसिरमा कोटेश्वरस्थित इलामेली गेष्ट हाउसबाट आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले बताएको छ ।

आरोपीहरुलाई प्रहरी वृत गौशालाले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले आरोपीहरुको साथबाट ६ वटा सुनको ‘नक्कली बिस्कुट’ बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us