
काठमाण्डु,१ पुस– मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको बताएका छन ।
मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखिएको थियो ।
सोही आधारमा मधेशी आयोगले मुस्लिम र थारु समुदायलाई पनि मधेशीको रुपमा परिभाषित गर्न सरकारलाई सिफारिस गरेको थियो ।
आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भएपछि थारु र मुस्लिम समुदायको तर्फबाट विरोध भएको थियो ।
थारु र मुस्लिम आयोगले नै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मधेशी आयोगले पठाएको पत्र ।
थारु र मुस्लिम आयोगका अध्यक्ष सहितका पदाधिकारीहरुले सार्वजनिक रुपमा थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको तथा सो मधेशी समुदायसँग मेल नखाने भएकाले मधेशीको सूचीमा राख्नु गलत भएको भन्दै विज्ञप्ति जारी भनीएको छ ।