काभ्रेका सिडिओ र एसपीलाई गृहमन्त्रीको फोनः बस दुर्घटनाका घाइतेको उद्धार र उपचार गर्नु

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते २१:५९ मा प्रकाशित

काभ्रे, २७ मंसिर– गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनाका घाइतेको उद्धार गर्न स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएका छन् ।

मन्त्री खाँणले मंगलबार साँझ काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी चक्रराज जोशीलाई उक्त निर्देशन दिएका हुन् ।

ब्रतबन्धबाट फर्किएका यात्रु बोहेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका– ४ चलाल गणेशस्थानमा मंगलबार साँझ दुर्घटना हुँदा १७ जनाको मृत्यु र २२ जना घाइते भएका थिए ।

घाइतेमध्ये १९ जनाको शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई काठमाण्डु पठाइएको छ । घटनास्थलमा स्थानीय, प्रहरी र सेनाले उद्धार गरेका थिए ।

गृहमन्त्रीले घाइतेको उपचारका लागि जिल्लाको स्रोत साधन अपुग भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us