
एजेन्सी– गुजरात विधानसभा चुनावको मतगणना जारी छ। गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ ।
भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ र फेरि एकपटक भाजपाको सरकार बन्ने भएको छ । भाजपा एकतर्फी अग्रताका साथ १ सय ४५ सिटमा अगाडि छ भने कांग्रेस २५ र आम आदमी पार्टी ८ सिटमा अगाडि छ ।
यहाँ ४ सिट स्वतन्त्र र अन्य उम्मेदवारको खातामा गएको देखिन्छ । आज बिहान ८ बजेदेखि आधा घण्टा अगाडि हुलाक मतपत्रको गणना गरेपछि गुजरातमा इभीएम बाट मतगणना सुरु भएको छ ।
भाजपाकी रिवाबाले जामनगरबाट फेरि अग्रता लिएकी छिन् । त्यस्तै अहमदाबादबाट सीएम भूपेन्द्र पटेल अग्रतामा छन् । बीजेपीका हार्दिक पटेलले पनि दोस्रो राउण्डपछि विरमगामबाट अग्रता लिएका छन्।
उनी पहिलो राउण्डमा पछि परेका थिए । आम आदमी पार्टीका मुख्यमन्त्री उम्मेदवार इशुदान गढवी पनि अगाडि छन् । भाजपाको अग्रता देखेर पार्टीका समर्थकहरूले उत्सव मनाउन सुुरु गरेका छन ।