चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन प्रदीप पौडेलको निर्देशन

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते १७:२८ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– कांग्रेसका नेता तथा काठमाण्ड–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।

बुधबार ललितपुरस्थित काठमाण्डु चक्रपथ सुधार योजनाको गरेका कार्यालयमा बेल्दै उनले यस्तो बताएका हुन । उनले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामको पनि जानकारी लिएका छन ।

उनले चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटो भन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन पर्ने बताएका छन ।

उनले विष्णुमति र सामाखुसी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक बिस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न पर्ने बताएका छन ।

उनले चक्रपथ बिस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुनेगरी गर्नुपर्ने बताए । उनले भने– ‘रिङरोड वरिपरि पचास मिटरभित्र सामानहरु हटाउनु, सफा गर्न १५ दिने सूचना जारी गरेको छ यो कार्यालयले ।

तोकिएको समयभित्र उहाँहरुले सफा गर्ने भन्नुभएको छ । विष्णुमति खोला, सामाखुशी खोला लगायत थुप्रै खोलाहरु वर्षातमा पानी बढेर बस्ती नै डुबानमा पर्ने स्थिति छ । ढलको क्षमता असाध्यै कम भएको कारणले बस्ती डुबानमा पर्ने स्थिति छ ।

सडक निर्माणको क्रममा जुन ढल निकासको प्रवन्ध हुन्छ, त्यो प्रवन्ध अलि बढी क्षमताको होस् । अहिलेको समस्या हल हुनेगरी होस् । ढल निकासको समस्यालाई रिङ रोड बिस्तारको क्रममा ध्यान दिएर समाधान गरियोस् भनेर हामीले कुरा गर्यौँ ।’

उनले स्थानीय समस्याहरुको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरासम्मको सडक बिस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल शुरु गर्न आग्रह गरेका छन ।

उनले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग पनि आफूहरुले कुरा गर्ने भन्दै चक्रपथ बिस्तारलाई छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us