
काठमाण्डु,२१ मंसिर– सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको ‘क्लिन चिट’ षडयन्त्रमुलक भएको बताएका छन ।
उनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिनेसमेत बताएका छन । आज बुधबार पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘संसद अधिवेशन बस्न बाँकी छँदै सचिवालयबाट बिचैमा यसरी पत्र आउनु भनेको षडयन्त्रमूलक कुरा हो ।
यो कुरा कानुन र संविधान अनुसार मिल्दैन । किनभने महाअभियोगको प्रक्रियामा गइसकेपछि संसदले कुनै निर्णय नगरेसम्म त्यो निलम्बन फुकुवा हुँदैन भन्ने प्रष्ट व्यवस्था हुँदाहुँदै सचिवालयले यसरी ष्डायन्त्रमुलक चिठी लेखेको हामीलाई स्वीकार्य छैन ।
यो कुराले मान्यता पाउन सक्दैन ।’ गत २०७८ फागुन १ गते सत्ता गठबन्धनका सांसदहरुले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसलगत्तै जबरा निलम्बनमा परेका थिए ।
आज संघीय संसदका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि जबरा सर्वोच्च अदालत फर्कने तयारीमा रहेका छन ।
आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै जबराले मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा गौतमले महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको र नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले जबराले कार्य सम्पादन गर्न पाउने व्यहोराको पत्र लेखेका थिए ।
तर शाक्यले साधारण विधेयकको हकमा त्यो कुरा लागू भए पनि महाअभियोगको हकमा त्यो कुरा लागू नहुने बताएका छन । उनले जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताए । उनले भने, ‘हामी प्रवेश गर्न दिंदैनौं । हामी मिटिङ बसेर यसको प्रतिवाद गर्नेछौं ।’