जबरालाई सर्वोच्चको मुख्य गेटमा रोक्न धर्ना दिने बार एसोसिएसनको तयारी

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते १३:४२ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी गरेको छ ।

बारका सदस्य डा रामहरि त्रिपाठीले भने, हामी प्रदर्शनको तयारीमा छौं, हामी जबरालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं,’ । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारले अवरोधको तयारी गरेको बताएका छन ।

संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा रहेका छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए ।

महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।

बुधबार संसदका महासचिव डा भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका लगतै जबराले सुरक्षा व्यवस्थाको तयारी गरेर आजैदेखि काममा फर्कने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us