आजैदेखि नियमित काममा फर्किन्छु: प्रधानन्यायाधीश जबरा

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते १३:३५ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू आजैदेखि नियमित काममा फर्किने बताएका छन् । संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा यस्तो बताएका हुन ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा परेका थिए ।

महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।

बुधबार संसदका महासचिव डा भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् । यसले न्यायको अनुभूति भएको भन्दै जबराले आजैदेखि काममा फर्कने बताएका छन ।

उनले भने, म खुसी छु, न्याय अनुभूत भएको छ आजदेखि म मेरो नियमित काम काजमा फर्किन्छु । २७ गतेबाट मैले अवकाश पाउने हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us