
काठमाण्डु, २१ मंसिर–तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय निधन भएको दासढुंगा घटना छानबिनका लागि गठित आयोगका संयोजक सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ ।
२०५० साल जेठ ३ गते पोखराबाट पूर्वी चितवनको ज्यामिरेमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भण्डारी र आश्रित सवार जिप दासढुंगाबाट त्रिशूलीमा खसेको थियो ।
९२ वर्षीय अनिलको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । अनिल लामो समयदेखि उच्च मुटु, रक्तचाप र मधेमेहका बिरामी थिए । जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका उनले उच्च अदालत हुँदै सर्वोच्चको अतिरिक्त न्यायाधीशबाट अवकाश लिएका थिए ।
अनिलले अवकाशपछि न्यायपरिषदको सदस्यका रुपमा समेत काम गरेका थिए ।
अनिलका छोरा डा. अरुण मास्केले बुधबार अन्तिम संस्कार गरिने बताए ।