महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १७:५४ मा प्रकाशित

काठमाण्डु,२० मंसिर– सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको छ ।

आज (मंगलबार) परराष्ट्र मन्त्रालयले काठमाण्डुस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हिजो (सोमबार) गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भइरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि मंगलबार नेपालले भारतलाई कुटनीतिक नोट पठाएको हो ।

‘दार्चुलामा भइरहेका घटनाका विषयमा गृहमन्त्रालयले तयार पारको प्रतिवेदनका आधारमा मन्त्रालयले भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार कुटनीतिक नोटमा नेपालले भारतलाई सीमानदी महाकालीमा एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न, सीमाक्षेत्रमा निर्माण कार्य गर्दा नेपालसँग पहिले सल्लाह गरेर सहमति लिन र सीमाक्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना दोहोरिन नदिन सचेत रहनुपर्ने विषय उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us