मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटलमा मृत अवस्थामा भेटिए

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १२:३८ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत अवस्थामा फेलापरेका छन । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत अवस्थामा फेलापरेका हुन ।

आज (शनिबार) हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका थिए ।

राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले जानकारी दिए ।

कोठामा उनले वान्ता गरेको पाइएको छ । उनको हातमा र कोठामा औषधि भेटिएको छ। उनी मधुमेह, उच्च रक्तचापका विरामी थिए ।

भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us