मुलुकको मुख्य रोग भ्रष्टाचार हो: चन्द्र भण्डारी

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते ११:५० मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– कांग्रेस डा. चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने रहेको बताए ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन । उनले मुलुकमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसको नियन्त्रण हुन नसकेको आफ्नो पार्टी भित्रको युवा समूहको ठहर रहेको बताए ।

बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहीँ रहेको भन्दै उनले परिवर्तन गर्नका लागि भ्रष्टाचार नै रोक्नुपर्ने उनको भनाई रहेको छ ।

उमेरले भन्दा पनि विचारले युवा भएको नेतृत्व मुलुकले खोजेको बताउँदै भण्डारीले विचारमा उर्जा र युवा जोश भएको नेतृत्व आजको आवश्यकता भएको बताए ।

निर्वाचित जनप्रतिनिधिहरू पार्टीको रसिदमा झुन्डिएका कारण मुलुकले गति लिन नसकेको उनको भनाई रहेको छ । जनप्रतिनिधिहरूलाई सदस्यताको रसिदभन्दा माथि उठेर काम गर्न उनले आग्रह गरे ।

आफू चुनाव प्रचारमा हिँड्दा किसानहरू आत्महत्या गर्ने अवस्थाको डिप्रेशनमा गएको पाएको भन्दै भण्डारीले नेताहरू पदको दलाल जस्तो देखिएको आरोप लगाए । ‘सबैतिर माफियाको बोलवाला छ, कसरी हुन्छ विकास ’ उनले प्रश्न समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us