अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो: देउवा

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते ११:२३ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन । देउवाले नेपालको संविधानले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको बताएका छन ।

 संयुक्त राष्ट्र सङ्घको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ ।

यस क्रममा यस वर्ष ३१औँ अन्तर्राष्ट्रिय दिवस ‘समावेशी विकासका लागि रूपान्तरित समाधान स् पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ ।

सो अबसरमा शुभकामना सन्देशमा दिँदै प्रधानमन्त्री देउवालले भनेका छन्, ‘मर्यादित, स्वावलम्बी र आत्मनिर्भर जीवनयापनका लागि अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, कानुनी र सधारमा रहेका अवरोधलाई न्यूनीकरण गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि राज्यको सेवा सुविधामा सरल र सहज पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता हो ।

नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको समेत पक्ष राष्ट्र भइसकेको सन्दर्भमा उक्त महासन्धिमा उल्लेख भएका विषयलाई नेपालको संविधान, सम्बन्धित ऐन, कानुनमा समावेश गरी अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई सम्मानजनक ढङ्गबाट सम्बोधन गर्दै अघि बढिरहेको छ’ सरकारको यो प्रयासमा निजी क्षेत्र, नागरिक समाज तथा सबै राष्ट्रिय तथा गैरसरकारी सङ्घसंस्थाको सहयोग र सद्भाव आवश्यक रहेको उनको भनाइ छ ।

उनले यस दिवसले अपाङ्गता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार प्रवद्र्धनको क्षेत्रमा अझ बढी एकीकृत र समन्वयात्मक तरिकाले उच्च समर्पणभावका साथ कार्य क्षेत्रमा उत्रन थप प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us