
काठमाण्डु, १६ मंसिर– राष्ट्रिय भूमि आयोगले काठमाण्डु उपत्यकासहित विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्ती तत्काल नहटाउन आग्रह गरेको छ ।
आयोगले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाण्डु महानगरपालिकासहित सबै स्थानीय तह तथा सबै निकायलाई कुनै पनि बस्तीका सुकुम्बासीलाई नहटाउन भनेको हो ।
‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सूचना जारी गरेलगत्तै गरिने स्पष्ट गरेको छ ।
आयोगले गत ३१ भदौदेखि भूमिहीनका लगत संकलनलगायतका काम रोकेको थियो ।
आचारसंहिता लागु नहुने सूचना निर्वाचन आयोगले जारी गरेपछि भूमि आयोगले आफ्ना कामलाई निरन्तरता दिने बताएको छ । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले केही दिनअघि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेपछि झडप भएको थियो ।