मेलम्चीको सुरुङमा आजदेखी पानी भर्न सुरु

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १३:२४ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– मेलम्ची खानेपानी परियोजनाले आजदेखी सुरुङमा पानी भर्न सुरु गरेको छ । खानेपानी विकास समितिले २६ कि मि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरीएको छ ।

बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो । गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो ।

आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ’ आयोजनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकीएको थियो । २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि फेरी रोकिएको थियो ।

यो वर्षको वर्षायाममा आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिएको आयोजनाले जनाएको छ । काठमाण्डु वासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था भने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us