राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा माओवादीलाई उछिन्यो

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फको मतगणनामा माओवादी केन्द्रलाई पछि पारेको छ ।

सोमबार बिहानसम्मको पछिल्लो मतपरिणामअनुसार रास्वपा माओवादीलाई उछिन्दै तेश्रो स्थानमा छ । रास्वपाले १० लाख ५९ हजार ७६ मत ल्याउँदा माओवादी केन्द्रले १० लाख ५१ हजार १ सय ४३ मत पाएको छ । समानुपातिकमा सुरुआती चरणमा अगाडि रहेको रास्वपालाई माओवादीले उछिनेको थियो ।

प्रत्यक्षमा भने माओवादीले १७ र रास्वपाले ७ स्थानमा जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिक पद्धतितर्फको ९२ लाख २७ हजार ५४ मत गणना भएको छ । एमाले २५ लाख १६ हजार ५ सय ९२ मतसहित पहिलो स्थानमा छ ।

एमालेलाई पछ्याइरहेको कांग्रेसले २३ लाख ८५ हजार १ सय ३ मत पाएको छ । राप्रपा ५ लाख ४४ हजार १ सय ४८ मतसहित पाँचौ, जनता समाजवादी पार्टी (जसपा) ३ लाख १७ हजार ४४ मत ल्याएर छैठौं तथा सातौँमा रहेको नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत पाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us