पाँच दलद्वारा चितवन–३ नछाड्न प्रचण्डलाई अपिल

काठमाण्डु टुडे २०७९ असोज १८ गते १७:३० मा प्रकाशित

काठमाण्डु, १८ असोज–सत्ता गठबन्धन आवद्ध पाँच दलले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ नछाड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
चितवनमा क्रियाशील काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका जिल्लास्थित प्रमुखहरुको बैठकले प्रचण्डलाई चितवन–३ नछाड्न आग्रह गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय प्रचण्ड गोरखाबाट चुनाव लड्ने चर्चा छ । बैठकपछि जारी विज्ञप्तिमा मुलुक, संविधान, शान्ति र विकासका लागि निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक हुने उल्लेख छ । निर्वाचनमा गठबन्धन गर्ने पाँच दलीय गठबन्धनको केन्द्रीयस्तरको निर्णयअनुसार जिल्लामा गठबन्धनमा उम्मेदवारलाई जिताउने प्रतिबद्धता उनीहरुले गरेका छन् ।

‘मुलुकमा राजनीतिक र शासकीय स्थिरता नचाहने र मुलुकलाई पश्चगमनतर्फ लैजान खोज्ने देशी तथा विदेशी शक्तिहरुका विरुद्ध लोकतन्त्र र संविधानका पक्षधर पाँच दलीय केन्द्रीय गठबन्धनमा आवद्ध राजनीतिक दलहरुका बीचमा भएको चुनावी गठबन्धनमा सहभागी दलहरुको केन्द्रीय समितिबाट आगामी संघीय एवं प्रादेशिक निर्वाचनका सम्बन्धमा गरिने निर्णय र तदनुरुप प्रस्तावित गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने जिल्लास्थित गठबन्धन दलको संयुक्त बैठक प्रतिबद्धता व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ,‘ साथै गठबन्धनका शीर्ष नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर–३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएकोप्रति गम्भीर ध्यानाकर्षण हुँदै मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघयि निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

विज्ञप्तिमा काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल र जसपाका प्रेमराज भुजेलले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us