दसैंको समयमा पनि २४ सै घण्टा पेट्रोल पम्पहरु खुलै हुन्छः आयल निगम

काठमाण्डु टुडे २०७९ असोज १४ गते २२:२९ मा प्रकाशित

काठमाण्डु, १४ असोज– नेपाल आयल निगमले दसैं बिदाको अवधिमा पनि पेट्रोल पम्पहरु खुलै रहने जनाएको छ ।

उपभोक्ताका लागि जानकारी दिन शुक्रबार विज्ञप्ति जारी गरी निगमले दसैंमा पनि निगमका सबै पम्प खुलै रहने जनाएको हो ।

दसैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बिदाका दिनमा समेत १३ वटा डिपोहरू खुला रहने विज्ञप्तिमा उल्लेख छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा समेत पम्पहरू २४ घन्टा खुल्ला हुने निगमले जनाएको छ ।

निगमका निर्देशक वीरेन्द्र गोइतले दसैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरू खुला राख्ने निर्णय गरिएको बताए ।

उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ । यस्तै बागमती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते डिपो खुला रहनेछन् ।

लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू खुला रहने गोइतले बताए । नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us