शम्भु थापाको आरोपः चोलेन्द्र श्रीमती काटेर, बोरामा हालेर जलाउने अपराधीको पैसा खाने मान्छे हुन्

काठमाण्डु टुडे २०७९ भदौ ३० गते २१:२३ मा प्रकाशित

काठमाण्डु, ३० भदौ–   वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै थापाले रञ्जन कोइरालाको मुद्दाको विषयमा जबराले गरेको फैसला पैसाको चलखेल भएको उदाहरण रहेको बताए ।

आफ्नी श्रीमतीलाई मारेर, काटेर, बोरामा हालेर प्रमाण नभेटिनेगरी जलाउने अपराधीको विवेकबाट कैद घट्छ ? पैसा बाहेक केले हुनसक्छ त्यस्तो फैसला ? भन्दै थापाले प्रश्न गरे ।

थापाले जबरा महाअभियोगबाट बच्नका लागि नेकपा (एमाले) को चाकडीमा लागेको आरोपसमेत लगाए । उनले जबराले विवादीत बयान दिएर कुनै एक दलको मन जित्न चाहेको आरोप लगाएका हुन् । ‘कुनै एक राजनीतिक दलको विश्वास जितियो भने महाभियोग लाग्दैन कि भन्ने दाउँमा छन् । तर त्यसो हुन दिनु हुँदैन । उहाँले धेरै विवादीत फैसला गर्नुभएको छ,’  थापा भन्छन् ।

‘सुरेन्द्रप्रताप सिंहको दुईवटा जन्ममिति छ भनेर मुद्दा हालेर फिर्ता लिएपछि चोलेन्द्र न्यायाधीश नियुक्त भएका हुन् । उनीविरूद्ध भ्रष्टाचार लागेको व्यक्तिले दाबी गरेको बाहेक पनि सम्पत्ति छ भनेर छोडेपछि न्यायिक टिप्पणीसहित न्याय परिषद्मा सिफारिस भएको हो । त्यहाँ पनि उनी भ्रष्टाचार र चलखेलबाटै न्यायाधीश भएका हुन्,’ थापाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us