मुलुकको राजनीति फेरि ममा केन्द्रित हुन खोजेको छः प्रचण्ड

काठमाण्डु टुडे २०७९ भदौ ३० गते ११:५४ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति फेरि आफूमा केन्द्रित हुन लागेको दाबी गरेका छन् ।

दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले माओवादी केन्द्र मुुलुकको पहिलो कम्युनिष्ट पार्टी बनने अवस्था आएको बताए ।

स्थानीय तहको निर्वाचनबाट देशलाई कता लैजाने भन्ने चाबी माओवादीको हातमा परोस् भन्ने जनताले चाहेको स्पष्ट भएको प्रचण्डले दाबी गरे । आफूले जनयुद्धकालमा जस्तै मिहेनत गरिहरेकाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई पनि पार्टी निर्माणमा रातदिन खटिन निर्देशन दिए ।

आफू एमाले, काँग्रेस र माओवादी सबैको नेताजस्तो बन्ने परिस्थिति बनेको जिकिर उनको थियो । त्यस अर्थमा आफू शौभाग्यशाली वा अभागी भन्ने छुट्याउन नसकेको प्रचण्डले उल्लेख गरे । ‘कहिलेकाहीं त म सौभाग्यशाली हो कि, अभागी हो किजस्तो लाग्छ । तपाईंले हेर्नुभयो भने कांग्रेस पनि त्यहीँ हुन्छ । एमाले पनि त्यहीँ हुन्छ । अरु पार्टी पनि त्यहीँ हुने जो स्थिति बनेको छ’, प्रचण्डले भने, ‘तपाईं हामी सबैले यो ठूलो कुरा छ । यसको रक्षा गर्नुपर्छ भनेर भनिदिनुभयो, बुझिदिनुभयो भने र मैले जत्तिकै सबैले मिहिनेत गरिदिनुभयो भने ठूलो कुरा हुन्छ भन्ने लाग्छ ।’

उनले स्थानीय तहको निर्वाचनमा आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा धेरै तहमा निर्वाचन हारेको बताए । यसअघि जितेका ५० भन्दा बढी स्थानीय तहमा जनमत आफूहरुकै पक्षमा भए पनि ती गुमेको उनाको भनाइ थियो । माओवादी पार्टीको अवस्था बलियो नभए राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धी संकटमा पर्ने प्रचण्डले तर्क गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us