चोलेन्द्रलाई महाअभियोग नलागेको भए फेरि प्रधानमन्त्री हुन्थेंः ओली

काठमाण्डु टुडे २०७९ भदौ ११ गते १९:०१ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा अभिव्यक्ति दिएका छन् ।

पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय समिति बैठक समापनका क्रममा ओलीले न्यायको शासन र कानूनी सर्वोच्चताको विषयमा उभिएका कारण जबराविरुद्ध महाअभियोग लगाइएको जिकिर गरे । आपराधिक उद्देश्यका साथ जबराविरुद्ध महाअभियोग दर्ता गराइएको उनको भनाइ थियो । एमाले सिध्याउनुपर्छ भन्ने न्यायाधीशहरुलाई भने सरकारले मानपदवी दिएको आरोप ओलीले लगाए ।

‘जसले न्याय र कानूनी राज्यका पक्षमा उभियो र बोल्यो उसलाई महाअभियोग’, ओलीले भने, ‘जसले एमालेको विरुद्धमा र सत्ता गठबन्धनका पक्षमा फैसला ग-यो उसलाई मानपवदी दिइएको छ ।’

ओलीले महाअभियोग दर्ता गर्नेहरुले जबरामाथि लगाएको भ्रष्टाचारीको आरोपको कुनै तुक नभएको दाबी गरे । ओलीले एमालेविरुद्धको षड्यन्त्रकै कारण जबराविरुद्धको महाअभियोग प्रस्ताव ६ महिनासम्म टेबलको घर्रामा राखेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध पनि खनिए ।

ओलीले माधव नेपालसहित १४ सांसदको पद खारेजीका लागि एमालेले हालेको मुद्दा पेसीमा चढाएपछि सत्ता गठबन्धनले सरकार टिकाउन जबरामाथि महाअभियोगको अस्त्र प्रहार गरेको बताए ।

जबरामाथि महाअभियोग नलागेको भए माधवसहित १४ सांसदको पद जाने र एमालेकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको ओलीले औंल्याए । ‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग नगाइएको भए आफू फेरि प्रधानमन्त्री हुन्थें भन्ने उहाँको भनाइको आसय थियो’, बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us