काठमाण्डु, ९ भदौ– सत्तारूढ गठबन्धन आवद्ध दलले देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अवस्था अध्ययन गरी प्रतिवेदन पेस गर्न सिट बाँडफाँटका लागि गठित कार्यदललाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सबै निर्वाचन क्षेत्रको अध्ययन गरी प्रतिवेदन बुझाउन भनेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलले छलफल गरेर केही दिनमै प्रतिवेदन बुझाउने बताए ।
कार्कीका अनुसार शीर्ष नेताको निर्देशनपछि आजै अपराह्न ४ बजे कार्यदल बैठक बोलाइएको बताए । तोकिएको समयसीमाभित्र सिटबाँडफाँटमा सहमति जुटाउन असफल भएको कार्यदलले शीर्ष नेतासँगै केही चरण छलफल गरिसकेको छ ।
‘शीर्ष नेताको बैठकले फेरि कार्यदललाई नै काम गर्ने गरी निर्देशन दिएको छ’, कार्कीले भने, ‘हामी नेताहरुको निर्देशनअनुसार आजै ४ बजे बैठक बसेर १ सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाबारे छलफल गर्छौं ।’
४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरे पनि सत्तारुढ काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाँडफाँट जटिल बन्दै गएको छ ।