बाबुराम भट्टराईबारे निर्णय गर्न प्रचण्डले बोलाए स्थायी समिति बैठक, नारायणकाजी रुष्ट

काठमाण्डु टुडे २०७९ साउन ३० गते ९:१५ मा प्रकाशित

काठमाण्डु, ३० साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको चुनावी सहकार्यबारे छलफल गर्न स्थायी समिति बैठक बोलाएका छन् ।

दुई नेताबीच आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको छ । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएपछि केही दिन अघिमात्र नयाँ दल दर्ता गराएका भट्टराई माओवादी चिन्ह हँसिया हथौडाबाट चुनाव लड्न तयार भएका छन् ।

भट्टराई ०७४ को निर्वाचनमा काँग्रेस समर्थनमा गृहजिल्ला गोरखाको क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यसपटक पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सोही क्षेत्रबाट उठ्ने तयारीमा छन् । गत निर्वाचनमा भट्टराईसँगै पराजित भएका श्रेष्ठ दुई वर्षअघि लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

जनमतद्वारा अस्वीकृत भएपछि पनि आवधिक निर्वाचनसम्म कुर्ने धैयर्ता नगरी चोरबाटोबाट राष्ट्रियसभामा आएको भन्दै श्रेष्ठको आलोचना भएको थियो । तर, उनी राष्ट्रियसभाको कार्यकाल चार वर्ष बाँकी छँदै राजीनामा दिएर प्रतिनिधिसभामा निर्वाचन लड्न जाने मनस्थितिमा छन् ।
श्रेष्ठलाई रोकेर भट्टराईलाई आफ्नो चिन्हबाट चुनाव उठाउने र निर्वाचनपछि पार्टीमा फर्काउनुपर्ने मत माओवादीमा बलियो छ । प्रचण्डले केही दिनअघि दुई नेतालाई सँगै राखेर मिलेर जान आग्रह गरेका थिए । तर, श्रेष्ठले गोरखा–२ बाबुरामलाई छाड्न मानेका छैनन् ।

प्रचण्ड र बाबुरामबीच भने एउटै निर्वाचनमा चिन्हमा निर्वाचनमा भाग लिने र निर्वाचनपछि समाजवादी मोर्चा निर्माण गरेर सँगै अघि बढ्ने सहमति भइसकेको छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयसीमा सकिनै लाग्दा पनि माओवादी केन्द्र र नेसपाले दल दर्ता गराएका छैनन् । छिट्टै लिखित सहमति गरेर आयोगमा दल दर्ताका लागि जाने तयारी उनीहरुको छ । श्रोतका अनुसार माओवादी केन्द्रको बैठकले बाबुरामसँगको गठबन्धनबारे आजै निर्णय गर्ने र साँझसम्म लिखित समझदारीमा हस्ताक्षर हुने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us