राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु दुर्भाग्यपूर्णः काँग्रेस

काठमाण्डु टुडे २०७९ साउन २९ गते २१:१९ मा प्रकाशित

काठमाण्डु, २९ साउन– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएकामा सरकार नेतृत्वकर्ता नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक चित्रलेखा यादवले राष्ट्रपतिले विधेयक फिर्ता गर्नुलाई दुर्भाग्यपूर्ण संज्ञा दिइन् । राष्ट्रपतिले लामो समयदेखि नागरिकता नपाएर शिक्षा, रोजगारीजस्ता मौलिक हकबाट नैसर्गिक अधिकारीबाट बञ्चित भएकाहरुको भविष्यमा बञ्चरो प्रहार गरेको आरोप उनले लगाइन् । यसअघि अध्यादेशमै भएको प्रावधानसहितको अध्यादेश राष्ट्रपतिले जारी गरेको स्मरण यादवले गरिन् ।

केपी ओली सरकारले सत्ता टिकाउन रातारात ल्याएको अध्यादेश मिनेट भरमै राजी गर्ने राष्ट्रपतिले जनताका प्रतिनिधिहरुको थलो सार्वभौम संसदले परित गरेको विधेयक फिर्ता गर्नुको नियत राम्रो नभएको बताइन् । उनले अध्यादेश र अहिलेको विधेयकमा नागरिकताको प्रावधान हुबहु भएको हेर्न सकिने उनको भनाइ थियो । उनले अनागरिकका रुपमा बाँचिरहेकाहरुका लागि आजको दिन पीडादायी भएको उनले बताइन् ।

प्रमुख प्रतिपक्षी एमालेले भने राष्ट्रपति भण्डारीले नागरिकता संशोधन विधेयक संघीय संसदमा फिर्ता पठाएकामा स्वागत गरेको छ । एमालेले आफ्नो मागअनुसारै राष्ट्रपतिले विधेयक फिर्ता गरेको भन्दै खुसी व्यक्त गरेको हो ।

राष्ट्रपतिले आइतबार विधेयक पुनर्विचार गर्न भन्दै संसदमा फिर्ता पठाएकी हुन् । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाले गत साउन ७ र राष्ट्रियसभाले साउन १२ मा पारित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us