सडक खन्दा भिरबाट लडेर सैनिक अमल्दारको मृत्यु

काठमाण्डु टुडे २०७९ साउन २७ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, २७ साउन– कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ ।

नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भिरबाट लडेर एकजना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।

सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ । घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ । टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us