
पोखरा, १७ साउन– पोखरामा झन्डै १५ घण्टाको अवधिमा २ सय ४९ मिलिमिटर वर्षा भएको छ ।
आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २ सय ४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार पोखरा विमानस्थलको रेकर्डमा १५ घण्टाको अवधिमा २ सय ४९ मिलिमिटर वर्षा भएको छ ।
पोखरा विमानस्थलबाहेक लामापाटन, लामाचौर र मालेपाटनमा पनि वर्षाको रेकर्ड गरिन्छ । लामापाटनको रेकर्डमा भने यो अवधिमा ३ सय ३४ मिलिमिटर वर्षा भएको छ । ‘सबै ठाउँमा एकैनासको वर्षा हुँदैन । कतै धेरै त कतै थोरै पर्न सक्छ ।
लामापाटनमा बढी परेको रेकर्ड छ’, अधिकारीले भने, ‘तर पोखरामा वर्षा मापन गर्दा विमानस्थलको रेकर्डलाई आधिकारिक मान्ने गरिन्छ ।’ लामापाटनमा केही महिनाअघि स्वचालित वर्षा मापन स्टेसन राखिएको थियो । नागरिक दैनिकबाट