
काठमाण्डु, १६ साउन– अर्थमन्त्रीका रूपमा जनार्दन शर्माले पुनः पदभार ग्रहण गरेपछि नेकपा एमालेले उनका विरुद्ध सडक र सदनबाट विरोध गर्ने भएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने बताए । भट्टराईले भने, ‘बहुमतका नाममा अल्पमतलाई पेल्ने काम भयो । फरक मत लिएर जनताका बीचमा जान्छौं । सडक र सदनबाटै आन्दोलन गर्छौं । कडा रूपमा प्रतिवाद गर्छौं ।’
एमाले अध्यक्ष केपी ओलीले पनि जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोखे । ‘खीर खाने दिन’ को अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदहरूले नै कल डिटेल हेर्न नदिएको बताए ।
उनले शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायब गरिएको दाबीसमेत गरे । ‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब छ । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । उबेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । चोरी पत्ता लगाउनु पर्यो भने तामातुलसी राखेर कसम खाने चलन थियो । अहिले चोख्याउने काम यसरी भयो,’ उनले भने ।