माओवादी विद्यार्थी संगठन खारेज गरी सम्मेलन गर्न सुझाव

काठमाण्डु टुडे २०७९ साउन ४ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, ४ साउन–माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद मिलाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिएर बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।  क्रान्तिकारीको सम्मेलनदेखिकै विवाद उत्कर्षमा पुगेर समानान्तर कमिटी गठन हुनेसम्मको अवस्था आएपछि त्यसबारे अध्ययन गर्न माओवादी स्थाथी समितिले संगठनका पूर्वअध्यक्षद्वय रमेश मल्ल र नरेन्द्र न्यौपाने तथा पूर्वविद्यार्थी नेता रत्न ढकाल रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिवेदनमा अध्यक्ष पञ्चा सिंह समूहले उपाध्यक्ष पवन कार्की समूहमाथि गरेको कारबाही फिर्ता गर्नुपर्ने र कार्की समूहले समानान्तर कमिटी भंग गरी मुल कमिटीमै समाहित हुनुपर्ने उल्लेख छ । यदि त्यसो नभएमा दुवै समिति भंग गरी विशेष महाधिवेशनमा जानुपर्ने सुझाव कार्यदलको छ ।

सम्मेलन सकिएको लामो समयसम्म सिंहबाहेक कोही पदाधिकारी चुनिन सकेका थिएनन् । सिंहले पदाधिकारी चयन गरेपछि एकलौटी भएको भन्दै कार्की समूह विरोधमा उत्रिएको थियो । आफ्नो निर्णयको प्रतिवाद गरेको भन्दै सिंहले कार्कीसहित सो पक्षका विद्यार्थी नेताहरुलाई निलम्बनको निर्णय गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us