हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाण्डु टुडे २०७९ साउन २ गते ७:२६ मा प्रकाशित

काठमाण्डु, २ साउन– आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ । अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ। ‘बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो’, गृह मन्त्रालय स्रोतले भन्यो ।

‘अर्थ मन्त्रालयले बजेट नदिने भनेको छ । मन्त्रीज्यूले पनि हतियार खरिदका लागि पैसा नभएको भन्नुभएको छ । त्यसकारण अहिलेलाई हतियार खरिद प्रक्रिया रोकिएको छ’, गृह मन्त्रालयका एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार गृह मन्त्रालयले हतियार खरिदमा चासो दिए पनि तत्काल हतियारभन्दा अन्य पूर्वाधारमै जोड दिने भएको छ । गृह मन्त्रालयका निमित्त प्रवक्ता एवं सहसचिव प्रदीप कोइरालाले हतियार खरिदबारे कुनै पनि प्रक्रिया अहिले अघि नबढ्ने बताए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us